Pages

Saturday, November 6, 2010

भाइटीका को महिमा

कात्तिक २१ गते प्रतिपदा ९ बजेर २२ मिनेटसम्म प्रतिपदा, उप्रान्त द्वितीया लाग्ने र कात्तिक २२ गते मध्याहृनकालमा द्वितीया नरहेकाले कात्तिक २१ गते नै भाइटीका गर्नु शास्त्रसम्मत् भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । यो दिन दाजुभाइको महत्त्व बेग्लै हुन्छ । भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ । दिदीबहिनी भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान-सुपारी आदि दिइन्छ । भाइटीकाका दिन टीका नलगाई केही खान हुँदैन । टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् । भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा-मीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गर्नुपर्छ । त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंगकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । सप्तरंगी टीकामा भावना मिसिएको शान्ति बताउँछिन् । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान-प्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानीपोखरीस्थित मन्दिरमा पूजाआजा गर्छन् । भाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहीनी यमुनालाई भेट्न आएका थिए । यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा । त्यसैले यमुनाले निमन्त्रणा गरी यमुराजलाई भेट्न बोलाइन् । त्यो बेलामा यमपञ्चक परेको थियो । यमपञ्चकभर यमुना कहाँ बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन् । त्यहीबेलादेखि नै भाइटीकाको प्रारम्भ भएको पाइन्छ ।

No comments: